Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


सल्लाघारीमा निर्माण उपकरणको अन्तर्राष्ट्रिय मेला


सल्लाघारीमा निर्माण उपकरणको अन्तर्राष्ट्रिय मेला

क्तपुरको सल्लाघारी मैदानमा निर्माण उपकरण तथा निर्माण प्रविधिहरूको बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ‘कनम्याक–२०१८’ सुरु भएको छ । निर्माण तथा खानीजन्य उपकरण तथा प्रविधिका लागि नेपाल दक्षिण एसियामै दोस्रो ठूलो र उदाउँदो बजार भएकाले नेपालमै अन्तर्राष्ट्रियस्तरको बृहत प्रदर्शनी आयोजना गरिएको आयोजक भारतीय उद्योग परिसंघको व्यापार मेला समितिका अध्यक्ष विपिन सोन्धीले बताए । उनले भने, ‘कनम्याककै लागि पनि यो एउटा महत्वपूर्ण अवसर हो ।’


हाल नेपालमा राजनीतिक स्थिरता रहेको र आर्थिक समृद्धि प्राप्त गर्ने प्रयासमा लागेकाले यो प्रदर्शनी सहयोगी बन्ने कनम्याक नेपाल– २०१८ का प्रमुख तथा आइसिइएमएका अध्यक्ष अरबिन्दकुमार गर्गले बताए । ‘अधिकांश पहाडी तथा हिमाली भू–भागयुक्त सुन्दर नेपालमा अहिले सडकलगायत भौतिक पूर्वाधारको विकासले गति लिएको छ,’ उनले भने, ‘जलविद्युत् विकास गर्न सक्ने सम्भावनाको वरदान पनि नेपाल

लाई प्राप्त छ । यो विकासका लागि आधुनिक निर्माण उपकरण तथा प्रविधिले सघाउनेछ ।’
नेपालमा कुल बजेटको करिब ३५ प्रतिशत विकास बजेट रहेको र विकास बजेटको झन्डै ६५ प्रतिशत बजेट पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको छ ।

उक्त विकास बजेटको पूर्ण कार्यान्वयनका लागि समेत प्रदर्शनीमा राखिएका उपकरण र प्रविधि सहयोगी हुने आयोजकको अपेक्षा छ । कनम्याकले नेपालमा आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको यो प्रदर्शनीले नेपाली निर्माण व्यवसायी तथा सरोकारवालालाई नयाँ उपकरण र प्रविधि एकै ठाउँमा हेर्न पाउने अवसर प्रदान गरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । तर, यति ठूलो प्रदर्शनी आयोजना गरिँदा आफूहरूसँग खास समन्वय नभएको उनले बताए । उनले प्रत्येक २ वर्षमा आयोजना गरिने भनिएको प्रदर्शनीले निरन्तरता पाउने अपेक्षासमेत गरे ।

अहिलेसम्मकै बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी
भृकुटीमण्डपमा निर्माणसम्बन्धी ठूला उपकरणहरू राख्न ठाउँ साँघुरो भएकाले यो प्रदर्शनी भक्तपुरको सल्लाघारी मैदानमा आयोजना गरिएको हो । प्रदर्शनी करिब ९९ रोपनी (२ लाख वर्गफिट) क्षेत्रफलमा आयोजना गरिएको छ । भारतीय उद्योग परिसंघ (सिआइआई)को आयोजना, भारतीय राजदूतावास र नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीको सेक्टर पार्टनरका रूपमा भारतीय कमपनी आइसिइएमए रहेको छ । प्रदर्शनीको प्रायोजकमा हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया, स्काभेटर उत्पादक कम्पनी जेसिबी, केवाइबी कन्म्याट र पुजोलाना रहेका छन् ।

आयोजकका अनुसार प्रदर्शनीमा १ सय ५० निर्माण उपकरण उत्पादक तथा प्रविधि उत्पादक भारतीय तथा बहुर्राष्ट्रिय कम्पनीले स्टल राखेका छन् । प्रदर्शनीमा केस कन्स्ट्रक्सन, टाटा हिटाची, गल्फ ओइलजस्ता कम्पनीको समेत सहभागिता छ । प्रदर्शनीमा भवन, सडक, पुल, जलविद्युत्, खानेपानी आयोजनाजस्ता भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक उपकरण तथा प्रविधि राखिएका छन् । प्रदर्शनीमा करिब ६ हजार व्यावसायिक अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा आयोजकको छ । प्रदर्शनी शनिबारसम्म चल्नेछ ।
सकिए राजनीतिक मुद्दा बाँकी छ समृद्धि :  मन्त्री महासेठ


भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अब देशमा राजनीतिक मुद्दा बाँकी नरहेको बताए । शताब्दीभन्दा लामो अवधिसम्म नेपालमा हुँदै आएको राजनीतिक संघर्षले राजनीतिक मुद्दाहरूलाई किनारा लगाइसकेको उनले बताए । कनम्याक– २०१८ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब आर्थिक समृद्धिको मुद्दा मात्र बाँकी रहेको बताएका हुन् ।

‘फागुनमा नेकपाको सरकार बनेपछि संघीयतासमेत कार्यान्वयन भएको छ,’ उनले भने, ‘अब प्रधानमन्त्रीले देख्नुभएको समृद्ध नेपाल र सुखी नेपालीको मुद्दालाई नै सबै मिलेर पूरा गर्नुपर्ने छ ।’ हालसम्म तीनै तहका सरकार संघीयता कार्यान्वयनका लागि नयाँ कानुन र बजेट निर्माणमै व्यस्त भएको र त्यो काम करिब पूरा गरेको उनले बताए । अब पूर्वाधार विकासलाई आधुनिक प्रविधि र यन्त्रयुक्त बनाउनु आवश्यक रहेको भन्दै उनले त्यसका लागि कनम्याकजस्ता प्रर्दशनीले सघाउने विश्वास व्यक्त गरे ।

सरकारले अबको साढे ४ वर्षभित्र १ हजार किलोमिटर रेलमार्ग सञ्चालनमा ल्याउने गरी योजना बनाएर सरकार अघि बढेको मन्त्री महासेठले बताए । त्यस अवधिसम्ममा २ हजार ८ सय किलोमिटर थप रेलमार्गको विस्तृत अध्ययन (डिपिआर)समेत पूरा गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘उत्तर–दक्षिण र पूर्व–पश्चिम रेलले जोड्ने मात्र होइन,’ मन्त्री महासेठले भने, ‘प्रधानमन्त्री ओलीले भन्नुभएजस्तै नेपालमा पानीजहाज ल्याउन नेपाल–भारत दुवै देशको संयुक्त टिमले काम सुरु गरिसकेको छ ।’ अबको साढे ४ वर्षभित्र नेपालको विकास बजेट झन्डै ३ गुणाले बढ्ने भन्दै उनले पूर्वाधार विकासमा आमूल परिवर्तन आउनेसमेत दाबी गरे ।
२ सय रोपनी जग्गा दिन्छौँ : सांसद बस्नेत


पूर्वमन्त्रीसमेत रहेका भक्तपुरका सांसद महेश बस्नेतले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणका लागि आफूहरूले भक्तपुरमा २ सय रोपनी जमिन उपलब्ध गराउने बताए । कनम्याक उद्घाटन समारोहमा उनले भक्तपुरमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र र ५ हजार जना अट्ने अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउन चाहेको बताए । त्यसका लागि लगानी गर्न कोही तत्पर भए जग्गा उपलब्ध गराउनुका साथै आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।
नेपालको समृद्धिका लागि भारत प्रतिबद्ध: राजदूत पुरी


नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले नेपालको समृद्धिका लागि भारत प्रतिबद्ध रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंमा रहेको भृकुटीमण्डपभन्दा ठूलो प्रदर्शनी केन्द्र भक्तपुरमा बनाउने प्रतिस्पर्धाको भावना भक्तपुरका नेताहरूमा देखिनु नै संघीयताको सुन्दर पक्ष भएको बताए । ‘तपाईंहरू भक्तपुरमा २ सय रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बनाउनुहोस्,’ सांसद महेश बस्नेतको भनाइलाई इंगित गर्दै उनले भने, ‘त्यस केन्द्रमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीको आयोजना हामी गर्छौं ।’ हाल ९९ सय रोपनी क्षेत्रफलमा फैलिएको कनम्याक– २०१८ पनि महत्वपूर्ण रहेको उनले बताए ।


You need to login to write a comment!

comments

Top