Joshilopost
२०७७ मंसिर १७, बुधबार


पुस्तक समीक्षा : सार्वभौम सोचका कुलराज


पुस्तक समीक्षा : सार्वभौम सोचका कुलराज

सानो भए पनि ठूलो
यही मुटुमा तिमी अटाइदेऊ
सुख परे साथ बिताइदेऊ
दुःख परे हात समाइदेऊ

कवि कृष्णप्रसाद पराजुलीले उल्लेखित कविता कुन प्रसंगमा लेखेका हुन्, खोज्नुभन्दा युवा चिन्तक कुलराज पौडेल (रूपक)का सार्वभौम सोचका विषयभित्र विश्व मानचित्र उनको सानो मुटु र सानो आँखामा अटाएजस्तो लाग्दछ । ‘एक पृथ्वी एक विश्व सरकार’ भन्ने सोचमा उनले सयौँ पृष्ठ ज्ञानहरू लेखेका छन् । एक युवा पहराबाट छहरा छुटेझैँ फोहरा छोडिरहेका छन् ।

डा. रामप्रसाद दाहाल

आफ्ना अभिव्यक्तिमा आफैँले प्रश्न गर्छन् अनि आफैँ उत्तर दिन्छन् । सार्वभौम ज्ञान आजको आवश्यकता प्रस्टै भनिदिन्छन्ः सभ्य व्यक्तित्व निर्माणका लागि, आफूले आफँैलाई चिन्न र कर्तव्यबोध गर्नका लागि, दिगो विश्व व्यवस्थापनका लागि, सूक्ष्म र सत्य वस्तुनिष्ठ ज्ञानहरू ग्रहण गर्नका लागि ।

यिनै सेरोफेरोमा ०३३ सालमा ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ९ मा जन्मिएका वाल्मीकि–जान्दवीका सन्तान कुलराजको लेखाइमा भावबोध, सोचमा सकारात्मकता, सिद्धान्तमा निष्ठा र सम्पन्नता वरण गरेर अगाडि बढिरहेका छन्, अनवरत आफ्नो यात्रामा ! यही यात्राको छोटो समयभित्रमा ५ कृति पस्कन सफल भएका छन् कुलराज ।

डिकुरा पब्लिकेसन र घोस्ट राइटिङ नेपालले संयुक्त रूपमा बजारमा ल्याएका उनका सार्वभौम अध्यात्म, सार्वभौम युगको विश्वविधान, सार्वभौम विज्ञान, स्वर्गको कार्यशाला, सार्वभौम नीति भव्य र सभ्य समारोहमा कृतिहरू लोकार्पण भइसकेका छन् । विषयगत ज्ञानको विश्लेषण गरियो । घोस्ट राइटिङ नेपालले कार्यक्रम आयोजना ग-यो उनले अर्थात कुलराजले उपाधि पाए – ‘विश्व परिवर्तनका संवाहक ।’

आधुनिक युगको विश्व नेतृत्व लिन सक्ने, आध्यात्मिक, भौतिकवाद वा ज्ञान भनेर विभाजित संसारलाई फ्युजन गर्न सक्ने, ब्रम्हाण्डको रहस्यलाई विषमय भावले अंकमाल गर्ने, शुद्ध चेतनाको उपलब्धि, आध्यात्मिक र वैज्ञानिक विश्लेषण, मानव मूल्यका बृहत् पाटोका अभिव्यक्ति, विश्व राजनीतिको उत्तम निकास, दर्शन र ज्ञानका अभिव्यक्ति नै सार्वभौम ज्ञान भएको कृतिले दिने सन्देश रहेको छ ।

स्वयम् लेखकले भनेका छन्, ‘लेखक भनेको प्रकृतिले प्रयोग गरेको जीवरूपी औजार मात्रै हो । मैले दिव्य चेतनाले घच्घच्याएर ज्ञानरूपी शक्तिहरूलाई अक्षरमा उतारेको मात्र हुँ ।’ उनी अझ थप्छन्, ‘विश्वका हामी सबै अटाउने प्रेमको संसार खडा गरौँ जसमा सर्वोच्च एक विश्ववाद हुनेछ, जसको कार्यरूप सार्वभौम विश्व सरकार हुनेछ । पृथ्वीमा एक मूल शक्ति हुनेछ जसको अगाडि युद्ध, हिंसा, अपराधहरू निर्मुल हुनेछन् ।’

‘सार्वभौम युगको विश्वविधान’ बृहत्तरग्रन्थका रूपमा प्रकाशित छ । यसभित्र १०४ शीर्षक छन् । पृष्ठ संख्या ५७८ छन् जसमा कूटनीति, अनुसन्धान, दर्शन, कृषि, कानुन, शास्त्रीय संयोजन, आदि इत्यादि पक्षलाई विश्लेषण गरी नीति, विधिअनुसार नै विश्व सरकार सञ्चालन हुन सक्छ भन्ने कुरा उल्लेख छ । सार्वभौम आध्यात्मिक विश्ववादको सिद्धान्त प्रतिपादन गरेर अगाडि बढ्न सकिन्छ भन्ने पृष्ठभूमि विशेष रूपमा रहेको छ ।

सार्वभौम विज्ञानमा मूल शीर्षक ७४ र उपशीर्षक ५९ रहेका छन् । ४३७ पृष्ठको यो कृति मनोवैज्ञानिक र अझ भन्दा वैज्ञानिक प्रमाणीकरणको सिद्धान्तमा केन्द्रित छ । परमज्ञानले नयाँ युगको नेतृत्व लिन सक्छ भन्ने आसय यो कृतिमा रहेको छ । मानव र पृथ्वीको कल्याण परमज्ञानबाटै सम्भव छ भन्ने यसको आसय रहेको छ । ममता, प्रेम, सफल जीवन प्राप्तिका लागि र्सावभौम विज्ञान जरुरी छ । विज्ञान अभिसाप होइन, वरदान हो ।  यदि विज्ञानलाई विश्वासको प्रमाणीकरणमा जोड्न सकियो भने ।

सार्वभौम अध्यात्म ४३ वटा मूल शीर्षक, १०८ उपशीर्षक, ३८९ पृष्ठ रहेको यो कृतिमा छरिएका सत्यहरूलाई बटुलेर आगामी पुस्ताका लागि पद्धतिका रूपमा विकास गर्न खोजिएको छ । अध्यात्मलाई मानवीय ज्ञानको उत्तमकला, संस्कारयुक्त संस्कृतिको तत्वबोध गर्ने अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको छ । यसभित्र मन्त्र, ध्यान, सनातन सत्य, साहित्य, भगवत प्राप्तिका विषयहरूलाई सैद्धान्तिक व्याख्या गरिएको छ ।

सार्वभौम नीति ११ वटा मूल शीर्षक, २०१० नीति, १७५ पृष्ठ संख्या रहेको यो कृति सूक्ति र उक्तिले भरिएको छ । सूत्रात्मक ज्ञानलाई विशेष महत्व दिइएको छ । अर्थ, ज्ञान, प्रेम, गृहस्थ, प्रार्थना, बाल, योवन, बृद्ध, शील, प्रकृति विविध पाटामाथि प्रकाश पारिएको यो कृतिको अझै प्रयोगात्मक कसीमा घोटिनु जरुरी छ ।

स्वर्गको कार्यशाला २११ पृष्ठमा केन्द्रित छ । यो कृति श्वेत कल्पनामा रमे रमाएको साहित्यिक उपहार मान्न सकिन्छ । स्वर्गको कार्यशालामा पृथ्वीका तर्फबाट विश्वआत्मा स्वर्गमा भएको कार्यशालामा भाग लिन गएको सन्दर्भ छ । स्वर्गका जीव संसार र जीवनलगायत पक्षको व्याख्या यसमा पाइन्छ । स्वर्गका अमर आत्मा र विश्वात्माका विशिष्ट वाणीहरू अनगिन्ती छन् यसमा पृथ्वीको कल्याण र हितका बारेमा लामो प्रसंग छ ।

पृथ्वीको सबैजसो विषयलाई यसभित्र समेटिएको छ । यो कृति विज्ञान र अध्यात्म मिश्रित साहित्य हो । साहित्य विधा, नाटकभित्र पर्ने यो कृति लेखकको परिकल्पनामा केन्द्रित छ । सत्यको कसीमा खार्न बाँकी देखिन्छ । यो लेखनीको प्रयोग र प्रयास प्रशंसनीय छ । अध्ययन पश्चात् मृत्युसँग भय कम हुने र अनन्त जीवनको बोध हुनेमा विश्वस्त हुन सकिन्छ ।

संक्षेपमा भन्दा लेखक युवा चिन्तक कुलराजले विश्वस्तरीय दर्शनलाई नेपालको माटोबाट खोतलेका छन् । भूगोलको सीमा आफ्नै ठाउँमा होला, ज्ञानको कुनै सीमारेखा हुँदैन । यो ज्ञानरूपी विशाल वृक्षलाई वरण गर्न सक्नुपर्छ, भोलिको संसार त्यसैमा छ । सार्वभौम दर्शनबाट – सुखी, शान्ति र सरल जीवन बाँच्न सफल हुन सकिन्छ भन्ने आसय समग्र ग्रन्थहरूको रहेको पाइन्छ ।

यी ग्रन्थहरू मानव मूल्य र सही जीवन जिउनेहरूका निमित्त पढ्नैपर्ने पुस्तकका रूपमा उभिएका छन् । पढेर मानव मस्तिष्कलाई खारौँ भन्दै यो लेखनीमा रत्ननिधि रेग्मीको यी पंक्ति लेखकको कृतिप्रतिको आसयका रूपमा छाड्दै विश्राम लिन चाहन्छु ।

को मान्छे ठूलो, को मान्छे सानो, सबै छन् बराबर
काला हुन् गोरा, धर्तीका छोरा, उस्तै छन् सरासर
कुन देशका हामी, कुन देशका उनी, को आफ्नो पराइ
चाहे हौँ हामी हिमाली लेक, पहाड, तराई ।


You need to login to write a comment!

comments

Top