Joshilopost
२०७७ मंसिर १९, शुक्रबार


राष्ट्रपतिलाई विलासी गाडी चाहियो, खरिदका लागि १८ करोड निकासा


राष्ट्रपतिलाई विलासी गाडी चाहियो, खरिदका लागि १८ करोड निकासा

संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले नेविसंघ विवाददेखि राष्ट्रपतिलाई बिलासी गाडी खरिदका लागि १८ करोड रुपैयाँ निकासा भएकोसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

पत्रपत्रिकाकै पहिलो पृष्ठमा वीरले अनियमित तरिकाले ५ सय जनालाई नियुक्ति दिएको, कांग्रेस शीर्ष नेता नेविसंघको घेरामा परेको, रेल सम्भाव्यता अध्ययनका लागि भारतसँग एमओयू भएको, नेकपामा एकता टुंग्याउन महासचिवको नेतृत्वमा गठित कार्यदल नै अलमलमा परेकोलगायत समाचार हेडलाइन बनेका छन् । विकृत बन्दै गइरहेको सामाजिक सञ्जालबारेको रिपोर्ट पनि आजको पत्रिकाले छापेको छ ।

कान्तिपुर दैनिकले आज ‘सेनाको थुनछेकमै जेठो रानीपोखरी’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । काठमाडौंको रानीपोखरी पुनर्निर्माणमा बखेडा चलिरहेका बेला भक्तपुरको सैनिक इलाकाभित्रको गुमनाम रानीपोखरी ब्युँताउन भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारण जुर्मुराएको समाचारमा उल्लेख छ ।

भक्तपुरमा सैनिक आवासीय महाविद्यालय परिसरको खेल मैदानसँगै रानीपोखरी छ । तर, यहाँ रानीपोखरी छ भन्ने धेरैलाई थाहा छैन ।

नेविसंघले कांग्रेसमा विवाद बढेकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार नेविसंघमा तदर्थ समिति बनाउने–नबनाउने विवाद चर्किंदा कांग्रेस केन्द्रीय समिति बैठक स्थगित हुन पुगेको छ । विद्यार्थी संगठनको कार्यसमितिलाई अधिवेशनसम्म लैजाने कि तदर्थ समिति बनाउने भन्नेमा नेताहरुबीच मतभेद छ ।

कान्तिपुरले वीरगञ्ज महानगरपालिका १८ की दलित महिलाको सामूहिक बलात्कार गरेको समूहले भिडियो बनाएर बार्गेनिङ गरेकोलाई एंकर बनाएको छ ।

अन्नपूर्णमा राष्ट्रपतिका लागि विलासी गाडी खरिद गर्न १८ करोड निकासा भएकोसम्बन्धी खबर छ ।

अन्नपूर्ण लेख्छ– सरकारले सेनामार्फत् राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलासी गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रुपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित ८ गाडी किन्ने तयारी छ ।’

०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको थियो । राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो । सरकारले त्यतिबेला गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो ।

अन्नपूर्ण अगाडि लेख्छ– सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै ४ करोडले नपुग्ने बताएको थियो । उसले १६ करोड मागेको थियो । सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो ।

गाडी खरिदका लागि १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा रहेको समाचारमा उल्लेख  छ ।

अन्नपूर्णमै अनुदानको नुनमा कालोबजारी भएकोदेखि कांग्रेस बैठक बस्न नसकेकोसम्मका खबर छन् ।

सामाजिक सञ्जालको बढ्दो दुरुपयोग र यसले पारेका असर केलाएको नयाँ पत्रिकाले पहिलो पृष्ठमै चिसो छल्न मुस्ताङका विद्यालय पोखरा झरेको छापेको छ ।

नागरिकमा नेपालले म्यानमारको मानव अधिकारको अवस्थाबारे संयुक्त राष्ट्रसंघको प्रस्तावमा मतदान बहिष्कार गरेको समाचार छ भने नेपाल समाचारपत्रले विप्लवको जनअदालतमा १ हजार मुद्दा दर्ता भएको लेखेको छ ।

नेपाल समाचारपत्रमै पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतीले एकल जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएको समाचार पनि छ । व्यापारको सिलसिलामा काठमाडौं गएको बेला ०७२ को भूकम्पले छोरा अच्युतको मृत्यु भएपछि एक्लो बनेकी जेठी बुहारी मालती शर्मालाई सुवेदीले छोरीकै रुपमा अन्माएर पठाएकी हुन् ।

राजधानीले सतर्कताको प्रतिवेदनलाई आधार बनाउँदै वीरमा ५ सय कर्मचारी चोरबाटोबाट नियुक्त भएको लेखेको छ । गोरखापत्रले हट एयर बेलुनले पर्यटकीय आकर्षण बढाउँदै लगेकोलाई एंकर बनाएको छ ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले निष्प्रभावी देखिएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबारे चिरफार गरेको छ भने हिमालले खस्कँदो प्रहरी मनोबलमाथि आवरण रिपोर्ट लेखेको छ । हिमालमै नेपालमा लागेको आप्रवासीको लर्कोबारेको रिपोर्ट पनि  छ ।


You need to login to write a comment!

comments

Top