चितवन– चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । यससँगै चितवन जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।उता पर्साको वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।वीरगञ्जबाट थप उपचारका लागि काठमाडौं लैजादै गर्दा एक जना ७७ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।मृतक वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का ७७ वर्षीय पुरुष रहेका छन् ।वृद्धमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रसाशकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।।