काठमाडौं । प्रदेश सभाबाट ५ नं. प्रदेशको स्थायी राजधानी दाङदेउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित हुनेबित्तिकै पूर्वसभामुख कृष्णबहादुर महराले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।मंगलबार बधाई तथा शुभकामना सन्देश जारी गर्दै दाङका जनप्रतिनिधिसमेत रहेका पूर्वसभामुख महराले प्रदेशको नाम र स्थायी राजधानी प्रदेशको सदनबाट पारित हुनुले संघीयता कार्यान्वयनको कार्यमा थप एक ईंट्टा थपिएको बताएका हुन्।देशलाई ७ प्रदेशमा विभाजन गरी प्रदेशका अस्थायी राजधानी तोक्दा नै आफूहरुले प्रदेश ५ को राजधानी दाङदेउखुरीमा तोक्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै महराले संघीयताको खास मर्म नागरिकलाई राज्यको सेवा सुविधा र स्रोतसाधनमा सहज पहुँच र वितरण भएको वक्तव्यमा उल्लेख गरेका छन्। ‘प्रदेश ५ को स्थायी राजधानी भौगोलिक रुपमा सबैलाई पायक पर्ने र बीच भागमा पर्ने दाङदेउखुरीमा राख्नुपर्दछ भनेर हामीले लामो समयदेखि भन्दै आएका थियौं।’
त्यस्तै महराले प्रदेश सभाले पारित गरेको निर्णय तत्काल कार्यान्वयन गर्न र स्थायी राजधानी तोकिएको स्थानमा संरचना बनाउँदा दीर्घकालीन सोंचअनुसार निर्माण गर्न पनि सरकारलाई विशेष अनुरोध गरेका छन्।साथै शान्तिका दूत गौतम बुद्धको जन्मस्थल र उनको पहिचान झल्किने लुम्बिनीलाई प्रदेशको नाम बनाएकोमा पनि खुसी व्यक्त गरेका छन्। प्रदेश सभाले दुवै प्रस्ताव पारित गरेको आजको दिनलाई ऐतिहासिक भन्दै महराले प्रदेश सरकार, प्रदेश सभा तथा राजनीतिक दलहरु, शीर्ष नेता तथा अन्य नेताहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन्।