टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको फाइनलमा उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ ।
आज विहान सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई आठ विकेटले पराजित गरेसँगै उपाधिका लागि फाइनलमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने भएको हो । आजै भएको पहिलो सेमिफाइनलमा भने अष्ट्रेलियाले आयोजक वेष्ट इन्डिजलाई ७१ रनले पराजित गरेको थियो ।
भारतमाथि इंग्ल्यान्डले सहज जित निकालेको हो । भारतले दिएको ११३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले १७.१ ओभरमा मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । इंग्ल्यान्डको जितमा एमी जोनेस र नटलीई स्किभरले उत्कृष्ट प्रदर्शन गरे । दुबै खेलाडीले अविजित रहदै अर्धशतकीय पारी खेलेपछि भारतमाथि शानदार जित हात पारेको हो ।
जोनेस ५३ र स्किभर ५२ रनमा अविजित रहे । यी दुई खेलाडीले ९२ रनको साझेदारी गरेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेटको क्षतिमा ११२ रन बनाएको थियो । भारतका लागि स्मृति मान्धनाले ३४ रन बनाएका थिए । इंग्ल्यान्डका लागि हेयथर काइन्टले तीन विकेट लिए ।
शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले पराजित गर्दै उपाधिबाट एक कदम पछि मात्रै रहेको हो । १४३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले १७.३ ओभरमा सबै विकेटको क्षतिमा ७१ रन मात्रै बनाउन सक्यो ।
वेष्ट इन्डिजका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । उसका लागि कप्तान स्टाफनीई टाइलरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । वेष्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका इलिसी पेरी, डेलिस्सा किमिन्स र अश्लेइघ गार्डनरले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि अलिसा हेयलीले ४६ रन बनाएकी थिइन् भने कप्तान मेघ लनिङले ३१ रनको योगदान दिएकी थिइन् ।