Joshilopost


घोराही उप–महानगरपालिकाद्धारा १ अर्ब ८६ करोड बजेट बिनियोजन 

आर्थिक वर्ष २०७७ / ०७८ 


घोराही उप–महानगरपालिकाद्धारा १ अर्ब ८६ करोड बजेट बिनियोजन 

दाङ । दाङको घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७ /०७८ का लागि १ अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाको बजेट प्रस्ताव गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेले  नगरसभामा उक्त वजेट प्रस्ताव गर्नुभएको हो ।उहाँले चालुतर्फ १ अर्व ८ करोड ५७ लाख २२ हजार अर्थात ५८ दशमलव ६० प्रतिशत रकम विनियोजन गर्नुभएको छ भने पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार अर्थात ४१ दशमलव ४० प्रतिशत रकम विनियोजन गरेको उल्लेख गर्नुभयो । उहाँले आगामी वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक आयबाट रु २५ करोड, सङ्घीय वित्तिय सामानीकरण अनुदानबाट रु ३२ करोड ७२ लाख, सङ्घीय राजश्व बाँडफाँडबाट रु २१ करोड १२ लाख १० हजार ६ सय, सङ्घीय सशर्त अनुदानबाट रु ६४ करोड ७ लाख, सङ्घीय समपुरक अनुदानबाट रु ७२ लाख व्यहोरिने बताउनुभयो ।त्यस्तै प्रदेश सामानीकरण अनुदानबाट रु ७९ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट रु २ करोड ७१ लाख १९ हजार, प्रदेश सशर्त अनुदानबाट रु ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपुरक अनुदानबाट रु ३ करोड व्यहोरिने जानकारी दिनुभयो। यसबाट अपुग हुने रकम २७ करोड ४० लाख ४० हजार ४ सय बैंक मौज्दातबाट व्यहोरिने उपप्रमुख न्यौपानेले बताउनुभयो । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्व ७८ करोड २९ लाख ६६ हजारको बजेट कार्यान्वयन गरिरहेको छ । उपमहानगरले आगमी वर्षका लागि चालु आर्थिक वर्षभन्दा झण्डै ७ करोड बजेट बढाएको छ ।

कोरोना  रोक्न ११ करोड ३६ लाख
घोराही उपमहानगरपालिकाले कोरोना महामारी रोकथामका लागि ११ करोड ३६ लाख रुपैया विनियोजन गरेको छ । सशर्त तर्फ रु ५ करोड २ लाख र निस्शर्त तर्फ रु ६ करोड ३४ लाख गरि जम्मा रु ११ करोड ३६ लाख विनियोजन गरेको उप प्रमुख न्यौपानेले बताउनुभयो । कोरोना विरुद्ध बाँचौं र बचाउ भन्ने अभियान जरुरी रहेको उल्लेख गर्दै उहाँले जीवन रहे जीवनलाई थप गतिशील र उर्जावान बनाउन सकिन्छ भन्दै आइसोलेशन वार्ड निर्माण, क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धनलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको बताउनुभयो ।

कृषिका लागि २ करोड ३९ लाख ३० हजार
घोराही उपमहानगरले कृर्षि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा स्थापित गर्दै थप जनशक्ति कृषि पेशामा आकर्षित गर्न रु २ करोड ३९ लाख ३० हजार बिनियोजन गरेको छ । जमिन बाँझो नरहने गरि खेती गर्ने प्रणालीको विकास गर्न उपमहानगरले भुमिबैंकको अवधारणा अगाडी सारेको भन्दै उप प्रमुख न्यौपानेल सामुहिक तथा करार खेती गर्न चाहने युवा९युवतीलाई प्रोत्साहित गर्न उक्त बजेट विनियोजन गरेको बताउनुभयो । कृषिमा आधुनिकीकरण, विविधिकरण एवं व्यवसायीकरण गरि कृषि उत्पादन एवं उत्पादकत्व बढाउने, अनुदान प्रणालीलाई वास्तविक पहुँचयोग्य बनाउने तथा कृषि पेशालाई सम्मानित र मर्यादित पेशाका रुपमा स्थापित गरिने छ उहाँले भन्नुभयो जसका लागि संघीय सशर्त तर्फ रु ८६ लाख , प्रदेश सशर्त तर्फ रु ५४ लाख ५० हजार र निशर्त तर्फ रु ९८ लाख ८० हजार गरि जम्मा रु। २ करोड ३९ लाख ३० हजार बिनियोजन गरेको छु ।

यस्तै उपमहानगरले पशुपंक्षी व्यवसायको प्रवद्र्धन गर्न रु १ करोड १२ लाख ८० हजार, शिक्षा क्षेत्रमा रु ५३ करोड ५६ लाख बिनियोजन गरेको छ। त्यस्तै पूर्वाधार विकास अन्तर्गत रु ५४ करोड ६ लाख १८ हजार विनियोजन गरेको उप प्रमुख न्यौपानेले उल्लोख गर्नुभयो । पर्यटकीय क्षेत्रमा रु १ करोड ५४ लाख, विपद तथा वातावरण तर्फ रु ३ करोड ११ लाख ५० हजार विनियोजन गरेको गरिएको छ। यस्तै उपमहानगरले सरसफाइका लागि, महिलाहरुको क्षमता अभिवृद्धिका लागि, जेष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति सहित फरक क्षमता भएका व्यक्तिहरुको शसक्तिकरणका लागि, उद्यमशीलता विकास मार्फत रोजगारी अभिवृद्धि गर्नका लागि आदि क्षेत्रमा बजेट विनियोजन गरेको छ । 


You need to login to write a comment!

comments

Top