Joshilopost


७ सय ५३ स्थानिय तहको अधिवेशनलाई प्रचण्डले सम्बोधन गर्ने 

स्थानीय तहको अधिवेशन


 ७ सय ५३ स्थानिय तहको अधिवेशनलाई प्रचण्डले सम्बोधन गर्ने 

काठमाडौ ।  नेकपा माओवादी केन्द्रले भोली  ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् । 


माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यही मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।


माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी संगठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्व समेत चयन भइसकेको छ ।

माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ । माओवादीले पार्टीले विधानको व्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहिता समेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।


You need to login to write a comment!

comments

Top